आज:  | Wed, 22, Apr, 2026

भगवाननगर टांडीमा विभिन्न पार्टी परित्याग गरि ४८ जना कांग्रेसमा प्रवेश

Avatar photo दिशा निर्देश १२ चैत्र २०७८, शनिबार २२:३० मा प्रकाशित (४ साल अघि)

ठोरी, १२ चैत -ठोरीको वडा नम्बर १ भगवाननगर टांडीमा आयोजित कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरि ४८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

भगवाननगरमा स्थानीय सरकारले कुनै पनि कामको सिन्को समेत नभाँचेको कारण सिङ्गो गाउँ नै कांग्रेसमा प्रवेश गरेकाे हाे ।

शनिबार साँझ आयोजित कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, महासमिति सदस्य प्रकाश खनालले अविर र दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश गराउँदै महामन्त्री श्रेष्ठले कांग्रेसले टांडीमा खानेपानी टंकी निर्माणको काम अघि बढाएर विकासको मुल फुटाउने कामको सुरुवात गरिसकेको उद्घोष गरे ।

आउँदा दिनमा सडक, सिंचाई, कृषि उत्पादन, शिक्षा, स्वास्थ्यको सवालमा आम नागरिकका जनजीविकामा परिवर्तन ल्याउने गरी काम गर्ने बताए ।

कार्यक्रमकाबीच नवप्रवेशीहरुले विगतमा एमाले र माओवादीले आफूहरुलाई झुक्याएको भन्दै अब नेपाली कांग्रेसमा गोलबद्ध भएर विकास र समृद्धिका पक्षमा साथसाथै हिँड्ने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेद्वारसमेत रहेका नवराज फुयाँलले आम वडावासीको जीवन उकास्ने गरी योजनाबद्ध तवरले आफू काम गर्न तत्पर रहेको भन्दै त्यसका लागि अमूल्य मतदान गरी काम गर्ने स्थानमा पुर्याउन आग्रह गरे । चुनावमा विजय पराजय जे भए पनि आफू सँधै आम वडावासीकै साथमा रहने प्रतिबद्धता पनि उनले जनाए ।

स्थानीय समेत रहेका उजेली देवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर कुवँरले सुद्ध पिउने पानी र सिंचाई अभावमा गाउँ खालि हुँदै गएको भन्दै अब घरघरमा खानेपानीको धारा पुगेपछि बाहिर गएकाहरु घर फर्कने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

साथै उनले घरघरमा धारा पुर्याउने अभियान अन्तर्गत नेपाली कांग्रेसकै पहलमा खानेपानी टंकी निर्माणको काम अघि बढेकाले यस क्षेत्रका मानिसमा कांग्रेसप्रतिको विश्वास जागेको पनि बताए ।

गत स्थानीय निर्वाचनमा सिङ्गो गाउँले माओवादीलाई मतदान गरी बिजय गराएको तर माओवादीले झुटो आश्वासन मात्र दिएको कारण नेपाली काँग्रेस रोजेको नवप्रवेशीहरुको भनाई रहेको थियो।

शनिबार साँझ आयोजित टोल भेला कार्यक्रममा छविलाल कुवँर, खुमलाल वि.क, मेगराज कुवँर, आसबहादुर कुवँर, पवित्रदेवी कुवँर, प्रेमबहादुर गिरी, हरिलाल कुवँर, पोमबहादुर कुवँर, बेलिमाया वि.क, नवराज परियार, रुद्र बहादुर कुवँर, तेज बहादुर कुवँर लगायत ४८ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

भेलाले गंगाबहादुर कुवँरको अध्यक्षतामा ३७ सदस्यिय भगवाननगर टांडी टोल कमिटी पनि गठन गरेको छ । कमिटीको सचिवमा राममाया वि.क, सदस्यहरुमा मन्जु वि.क, खुमलाल वि.क, हरिलाल कुवँर, अन्जली वि.क, डोरबहादुर खत्री लगायत ३७ सदस्यिय टोल कमिटी गठन गरिएको हो ।

नेपाली कांग्रेस प्रदेस ४(क)का सभापति जीवनकृष्ण सापकोटाले सहजिकरण गरेको कार्यक्रममा कांग्रेस वडा नम्वर १ का वडा सभापति तिलकबहादुर रिमाल, नारायण सिलवाल लगायतको सहभागिता रहेको थियो ।

 


सम्बन्धित खबरहरु