आज:  | Thu, 02, Apr, 2026

वीरगञ्जका समस्याबारे सांसद हरि पन्तको प्रधानमन्त्रीसँग ध्यानाकर्षण

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०७:५४ मा प्रकाशित (४ घण्टा अघि)

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार मधेस प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरेको छलफलका क्रममा सांसद पन्तले वीरगञ्जको सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यसैगरी, किसानहरूले समयमै आवश्यक मात्रामा रासायनिक मल नपाइरहेको विषय उठाउँदै उहाँले सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वीरगञ्जमा सञ्चालनमा रहेका क्यासिनोहरूमा नेपाली नागरिकको अवैध प्रवेश भइरहेको विषयमा पनि सांसद पन्तले चिन्ता व्यक्त गर्नुभयो । गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर क्यासिनोहरूले नागरिकलाई आर्थिक रूपमा समस्यामा पार्दा समेत स्थानीय प्रहरी प्रशासन मौन बसेको उहाँको आरोप थियो ।

यस्तै, वीरगञ्जका विभिन्न स्थानमा अवैध ढाट राखेर सवारी कर असुली भइरहेको भन्दै पन्तले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो प्रधानमन्त्रीसमक्ष राख्नुभयो ।

सांसद पन्तको ध्यानाकर्षणपछि प्रधानमन्त्री शाहले यस्ता बेथिति र अराजकता रोक्न गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


सम्बन्धित खबरहरु