आज:  | Thu, 02, Apr, 2026

इरानविरुद्ध सैन्य कारबाही सफलताको नजिक पुगेको ट्रम्पको दाबी

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०८:०० मा प्रकाशित (४ घण्टा अघि)

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् ।

बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले अमेरिकी सैन्य उद्देश्यहरू लगभग पूरा भइसकेको र निकट भविष्यमा अभियानलाई पूर्णता दिने बताएका हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले करिब एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार इरानी नौसेना निष्क्रिय अवस्थामा पुगेको, वायुसेना कमजोर बनेको र शीर्ष सैन्य नेतृत्वमा समेत ठूलो क्षति पुगेको छ । उनले इरानको मिसाइल तथा ड्रोन आक्रमण क्षमता उल्लेखनीय रूपमा घटाइएको दाबी गर्दै “अमेरिका जिततर्फ अग्रसर छ, र यो जित ऐतिहासिक हुनेछ” भने ।

राष्ट्रपति ट्रम्पले सन् २०२५ जुनमा सञ्चालन गरिएको ‘अपरेशन मिडनाइट ह्यामर’ को पनि उल्लेख गर्दै इरानका आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताएका छन् । इरान आणविक हतियार निर्माणको नजिक पुगेको दाबी गर्दै उनले बराक ओबामा को कार्यकालमा भएको आणविक सम्झौतालाई ठूलो भूल भएको टिप्पणी गरे । उक्त सम्झौता अन्त्य गरेकोमा आफू गर्वान्वित रहेको पनि उनले बताएका छन् ।

क्षेत्रीय सुरक्षाबारे बोल्दै ट्रम्पले इजरायल र खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकाले सधैं साथ दिने आश्वासन दिएका छन् । साथै, उनले सहयोगी राष्ट्रहरूलाई हर्मुज जलसन्धि को सुरक्षामा सक्रिय भूमिका खेल्न आग्रह गरे । अमेरिकालाई अब उक्त क्षेत्रको तेल वा सुरक्षामा निर्भर रहनु नपर्ने संकेत गर्दै उनले अमेरिकी सेना फिर्ता हुन सक्ने सम्भावना पनि औँल्याए ।

घरेलु राजनीति र आर्थिक सन्दर्भमा ट्रम्पले बढ्दो इन्धन मूल्यका लागि इरानलाई दोषी ठहर्‍याए । साथै, निकोलस मदुरो लाई हटाइएको सैन्य अभियान सफल भएको दाबी गर्दै अहिले भेनेजुएला अमेरिकासँग व्यापारिक साझेदार बनेको उल्लेख गरे ।


सम्बन्धित खबरहरु