आज:  | Thu, 02, Apr, 2026

पर्सा मालपोतमा झण्डै ३ करोड राजस्व हिनामिना, पाँच कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०७:४८ मा प्रकाशित (४ घण्टा अघि)

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मालपोत कार्यालय पर्सामा भएको ठूलो राजस्व हिनामिना प्रकरणमा पाँच जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गर्दै करिब २ करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व अनियमितता भएको ठहर गरेको जनाएको छ ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ मा गम्भीर अनियमितता भएको खुलेको हो । एउटै दर्ता नम्बरलाई दोहोरो तथा तेहेरो प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ ।

त्यसैगरी, न्यून राजस्व देखिएका लिखतहरू मात्र बैंकमा दाखिला गर्ने र बढी राजस्व उठ्ने लिखतबाट प्राप्त रकम भने लेखा शाखामा दाखिला नगर्ने गरिएको पाइएको छ । यस प्रक्रियामार्फत कुल २ करोड ९३ लाख ६८ हजार ५ सय ६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको निष्कर्ष आयोगले निकालेको छ ।

उक्त प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको कैद सजाय र दोब्बर जरिवाना माग गरिएको छ ।

यसैबीच, स्वर्गीय नायब सुब्बा किरणप्रसाद उपाध्यायको हकमा भने उनका हकदारहरू राजकिशोर, गौतम, पशुपति र मुरारीप्रसाद उपाध्यायबाट हिनामिना भएको रकम असुलउपर गर्न माग गरिएको आयोगले जनाएको छ ।


सम्बन्धित खबरहरु