तेहरान । इरान, अमेरिका र इजरायल बीच जारी युद्धमा ज्यान गुमाउनेहरूको संख्या ५ हजार नाघेको छ । विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको तथ्याङ्क संकलनका आधारमा रोयटर्स ले सार्वजनिक गरेको विवरणले पश्चिम एसियामा मानवीय क्षति भयावह बन्दै गएको देखाएको छ ।
सबैभन्दा ठूलो क्षति इरान मा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ । मानव अधिकारवादी संस्था हराना का अनुसार ज्यान गुमाउनेमध्ये १ हजार ५ सय ९८ जना सर्वसाधारण छन्, जसमा २४४ बालबालिका समेत रहेका छन् । रेडक्रस र रेड क्रिसेन्ट का अनुसार इरानमा करिब १९ हजार मानिस घाइते भएका छन् ।
युद्धको प्रभाव लेबनान, इराक लगायत छिमेकी मुलुकहरूमा पनि व्यापक रूपमा फैलिएको छ । लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाको मृत्यु भएको छ, जसमा १२४ बालबालिका रहेका छन् । त्यहाँ हिजबुल्लाह का ४ सयभन्दा बढी लडाकु मारिएका छन् भने ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघ का ३ इन्डोनेसियाली शान्ति सैनिकले समेत ज्यान गुमाएका छन् ।
इराक मा पनि अवस्था तनावपूर्ण छ । स्वास्थ्य अधिकारीहरूका अनुसार इरान निकट मिलिसिया, कुर्द लडाकु तथा केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायल मा हालसम्म १९ जनाको ज्यान गएको छ । साथै, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएको जनाएको छ भने सीमा क्षेत्रमा असावधानीका कारण एक किसानको समेत मृत्यु भएको छ ।
युद्धमा प्रत्यक्ष संलग्न अमेरिका ले पनि आफ्ना १३ सैनिक गुमाएको जनाएको छ, जसमा इराकमा भएको विमान दुर्घटना र इरानमा भएका सैन्य कारबाहीका क्रममा ज्यान गुमाएकाहरू समावेश छन् ।
यस युद्धको असर खाडी क्षेत्रका अन्य मुलुकहरूमा पनि देखिएको छ । संयुक्त अरब इमिरेट्स मा ११, कतार मा ७, कुवेत मा ७ तथा वेस्ट बैंक र सिरिया मा ४–४ जनाको मृत्यु भएको छ । साथै बहराइन, ओमान र साउदी अरब मा पनि मृत्युका घटना दर्ता भएका छन् ।
अन्तर्राष्ट्रिय संस्थाहरूले मृत्यु संख्या अझै बढ्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
