आज:  | Wed, 08, Apr, 2026

प्रतिनिधिसभामा तीन अध्यादेश पेश,अर्को बैठक चैत्र २२ गते

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार १६:५९ मा प्रकाशित (५ दिन अघि)

वीरगञ्ज । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन वटा अध्यादेश पेस गर्नुभएको छ ।

बिहीबार सिंहदरबारस्थित संसद भवनमा बसेको पहिलो अधिवेशनको पहिलो बैठकमा ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरिएको हो ।

गत फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन मिति तोकिएपछि मतदाता नामावली अद्यावधिक गर्ने उद्देश्यले अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत ल्याउन ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको जानकारी दिनुभयो ।

यसै बैठकमा सभाध्यक्ष अर्जुननरसिंह केसी ले सभामुख निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनुभएको थियो ।

बैठकले पूर्व सांसदहरूको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबारका लागि बोलाइएको छ ।


सम्बन्धित खबरहरु