वीरगञ्ज । वीरगञ्जस्थित सीता सुपरस्पेसालिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालविरुद्ध गम्भीर लापरवाहीको आरोप लगाइएको छ। पर्सौनी गाउँपालिका–३ का ५७ वर्षीय श्रीपति देवीको उपचारकै क्रममा मृत्यु भएपछि परिवारजन आक्रोशित बनेका छन्।
परिवारका अनुसार सामान्य पेटसम्बन्धी समस्या लिएर अस्पताल पुगेका श्रीपति देवीको अवस्था उपचारकै क्रममा बिग्रँदै गएको थियो। समयमै उचित उपचार नपाउँदा मृत्यु भएको उनीहरूको आरोप छ। साथै, उपचार प्रक्रियामा आवश्यक विशेषज्ञ (स्पेसलिस्ट) ले राउन्ड नगरेकाे परिवारले आरोप लगाउदै यसकाे उचित छानबिन गर्न माग गरेका छन।
अस्पताल ज्यान दिने ठाउँ हो कि ज्यान लिने?” भन्दै परिवारजनले घटनाको निष्पक्ष छानबिन गर्न सरकार, नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।
पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
परिवारले घटनालाई गम्भीर चिकित्सकीय त्रुटिको रूपमा व्याख्या गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। साथै, नेपाल मेडिकल काउन्सिल र उपभोक्ता अदालतमा उजुरी दिने तयारीसमेत भइरहेको मृतकको परिवारले जनाएकाे छ।
यता अस्पताल प्रशासनले भने विज्ञप्ति जारी गर्दै बिरामीलाई ग्यास्ट्राइटिस, वान्ता र वाकवाकीको समस्या सहित भर्ना गरिएको जनाएको छ। उपचारकै क्रममा अचानक कार्डियाक अरेस्ट भएको र चिकित्सक टोलीले तत्कालै CPR तथा इन्ट्युबेशन जस्ता आपतकालीन उपचार प्रक्रिया अपनाए पनि ज्यान बचाउन नसकिएको अस्पतालको दाबी छ।
उपचारमा संलग्न चिकित्सकहरूमा डा. उदय नारायण सिंह, डा. राम किशोर सिंह र डा. मुकुन्द जैयसवाल लगायत रहेको अस्पतालले जनाएको छ। साथै, सम्पूर्ण उपचार चिकित्सकीय मापदण्डअनुसार गरिएको र कुनै लापरवाही नभएको अस्पतालको दाबी छ।
घटनाबारे सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायले छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ। बिरामीको मृत्युबारे उठेका प्रश्नहरूले स्वास्थ्य सेवा प्रणालीप्रति जनविश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र पारदर्शी अनुसन्धान अपरिहार्य देखिएको छ।
