वीरगञ्ज । लामो समयदेखि रोकिएको मुख्य सडक विस्तारको काम अन्ततः आज बिहानैदेखि सुरु गरिएको छ। बिहान करिब ५ बजेदेखि नै संरचना हटाउने तथा सडक फराकिलो बनाउने कार्य अघि बढाइएको हो।
सडक डिभिजन कार्यालय, हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजना कार्यान्वयनमा ल्याइएको छ।
कामलाई तीव्र बनाउन एकैसाथ पाँच स्थानबाट सडक विस्तार सुरु गरिएको छ। यसका लागि डोजर, एक्साभेटरसहित ९ वटा भारी उपकरण परिचालन गरिएको छ भने सुरक्षा व्यवस्थालाई कडाइका साथ मजबुत पारिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहाल का अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम सुरु भइसकेको छ। यस कार्यका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी प्रशासन तथा सम्बन्धित निकायबीच समन्वय गरिएको जनाइएको छ।
यसअघि करिब १,२०० घरधनीले मुआब्जा तथा वैकल्पिक व्यवस्थाको माग गर्दै मुद्दा दायर गरेका कारण सडक विस्तार झण्डै १३ वर्षसम्म अन्योलमा परेको थियो। तर सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि विस्तार कार्य अघि बढाउने कानुनी बाटो खुलेको हो।
अदालतको निर्णयपछि प्रशासनले संरचना हटाउँदै चरणबद्ध रूपमा सडक विस्तार कार्य अगाडि बढाएको जनाएको छ।
