वीरगञ्ज । लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य अन्ततः आइतबारदेखि सुरु गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने यस सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार दायाँ बायाँ २५–२५ मिटर विस्तार गर्ने योजना कार्यान्वयनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाको समन्वयमा बिहानै ५ बजेदेखि डोजर परिचालन गरी सडक क्षेत्रभित्रका घर, टहरा तथा अन्य संरचना हटाउन थालिएको छ। सडक विभागका ९ र महानगरपालिकाका ४ गरी कुल १३ वटा डोजर एकैसाथ परिचालन गरिएको छ।
चिनीमिल आवास क्षेत्र, पावरहाउस चोक, मुर्ली, माईस्थान, घण्टाघर, आदर्शनगर तथा रजतजयन्ती चोकलगायतका स्थानमा एकैसाथ संरचना हटाउने काम भइरहेको छ। सडक डिभिजन कार्यालयका नायब सुब्बा राजकुमार अर्यालका अनुसार काम अविरल रूपमा सञ्चालन हुनेछ र निर्धारित क्षेत्र पूर्ण रूपमा खाली नभएसम्म निरन्तर जारी रहनेछ।
कार्यालयका प्रमुख गुरु अधिकारीका अनुसार गण्डक चोकदेखि नेपाल भारत सीमास्थित मितेरी पुलसम्मको सडक विस्तार क्षेत्रमा २९ वटा सरकारी भवनसहित करिब १२०० निजी घर संरचना पर्दछन्। ती सबै हटाएर सडक फराकिलो बनाइने योजना रहेको छ।
सडक विस्तार कार्यलाई सहज बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा महानगरका नगर प्रहरी गरी ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनका अनुसार अहिलेसम्म कार्य अवरोधरहित रूपमा अघि बढिरहेको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै आइतबार बिहान ४:३० बजेसम्म उक्त क्षेत्रभित्रका संरचना हटाउन निर्देशन दिएको थियो।
उल्लेखनीय छ, सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि १३ वर्षदेखि रोकिएको योजना कार्यान्वयनको बाटो खुलेको हो। पूर्णपाठ सार्वजनिक हुन ढिलाइ तथा प्रशासनिक प्रक्रिया लम्बिँदा कार्यान्वयनमा समय लागेको थियो।
वि.सं. २०६९ सालदेखि नै सडक विस्तारको तयारी सुरु भए पनि करिब १२०० घरधनीले मुआब्जा, वैकल्पिक व्यवस्था तथा सडकको आवश्यकता सम्बन्धी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका कारण योजना लामो समय अन्योलमा परेको थियो।
अब अदालतको निर्णय कार्यान्वयनसँगै वीरगञ्जको सबैभन्दा व्यस्त सडक फराकिलो बनाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ, जसले सहरको ट्राफिक व्यवस्थापन र आर्थिक गतिविधिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
