वीरगञ्ज । सरकारले सरकारी कर्मचारीहरूलाई अब महिनामा दुई पटक तलब दिने निर्णय गरेको छ। स्वर्णिम वाग्ले को निर्णयअनुसार अर्धमासिक (१५–१५ दिनमा) तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्न लागिएको हो।
हालसम्म महिना समाप्त भएपछि एकमुष्ट रूपमा तलब दिने प्रचलन रहेकामा कर्मचारीहरूको आर्थिक व्यवस्थापन सहज बनाउन यो नयाँ प्रणाली अघि सारिएको हो। वैशाख ४ गते गरिएको निर्णयअनुसार अब प्रत्येक महिनामा दुई किस्तामा तलब वितरण गरिनेछ।
यसका लागि अर्थ मन्त्रालय ले आवश्यक व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालय लाई निर्देशन दिइसकेको छ।
सरकारका अनुसार यो व्यवस्थाले कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापन सहज बनाउने, महिनाको बीचतिर देखिने आर्थिक दबाब घटाउने र बजारमा नगद प्रवाहलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
यसअघि मासिक तलब प्रणालीका कारण महिनाको मध्यतिर आर्थिक अभाव झेल्नुपर्ने गुनासो बढ्दै आएको सन्दर्भमा सरकारले ‘अर्धमासिक’ भुक्तानी प्रणालीमार्फत त्यसको सम्बोधन गर्न खोजेको हो।
