आज:  | Sun, 19, Apr, 2026

परवानीपुर गोल्डकपको उदघाटन खेलमा आयोजक शक्ति युवा क्लब ५ गोल अन्तरले विजयी 

Avatar photo दिशा निर्देश ५ बैशाख २०८३, शनिबार १९:५३ मा प्रकाशित (१ दिन अघि)

वीरगञ्ज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उदघाटन खेलमा आयोजक शक्ति युवा क्लबले पाँच गोल अन्तरले विजयी सुरुवात गरेको छ ।

शनिबार परवानीपुर खेल मैदानमा भएको उदघाटन खेलमा आयोजक शक्ति युवा क्लबले यंग स्टार क्लब बिहार भारतलाई ५-० गोल अन्तरले हराएको हो ।

खेल सुरु भएको तेस्रो मिनेटमा शक्ति युवा क्लबका कप्तान सन्दीप यादवले पहिलो गोल गरेर अग्रता टिमलाई अग्रता दिलाए ।

सुरु देखि दबाबमा परेको यंग स्टार फुटबल क्लब बिहारले ७ औं मिनेटमा दोस्रो गोल खाएको हो । दोस्रो गोल पनि शक्ति युवा क्लबका कप्तान सन्दीपले गरेका हुन् ।

पहिलो हाफ सम्म दुई गोलले अग्रता बनाएको शक्ति युवा क्लबले खेलको ५३ औं मिनेटमा तेस्रो गोल गरेको थियो ।

टिमका लागि तेस्रो गोल आशिष थिङले गरेका थिए ।

खेलमा निरन्तर दबाब बनाएको शक्ति युवा क्लबले खेलको ६२ मिनेटमा चौथो गोल हानेको थियो । यो गोल पनि शक्ति युवा क्लबका कप्तान सन्दीपले गरेका थिए । उनको यो ह्याटि्रक गोल थियो ।

यस्तै खेलको ६४ मिनेटमा पनि शक्ति युवा क्लबले अर्को गोल गरेर ५ गोल अन्तरले अग्रता बनाउदै जितेको थियो । यो गोल शक?युवा क्लबका खेलाडी सन्दीप क्षेत्रीले गरेका थिए ।

खेलमा म्यान अफ दी म्याच शक्ति युवा क्लबका कप्तान सन्दीप यादव घोषित हुदै २१ सय नगद प्राप्त गरे । उनलाई भेट्रान सिटि क्लबका अध्यक्ष सबिन बस्नेत पुरस्कार प्रदान गरे । भोलिको खेलमा निजगढ फुटबल क्लब निजगढ र वीरगन्ज युथ एकेडेमी वीरगन्ज बीच हुनेछ ।

आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षता भएको कार्यक्रममा प्रतियोगिताको उदघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए । उनले यहाँको यसआसपासका खेलकुदका गतिविधिलाई अगाडि बढाउन आफू संगै रहेर सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रतियोगिताका संयोजक संजय मण्डलले गरेका थिए ।

एक हप्ता सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले भाग लिने प्रतियोगीताका सहसंयोजक दिपक यादवले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब गरी आठवटा टीम सहभागी हुनेछन् ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा वैशाख ५–१२ गते प्रतियोगिता संचालन हुने सहसंयोजक यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष  श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

उदघाटन कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , वीरगन्ज महानगरपालिका २१ का वडाअध्यक्ष राधाकृष्ण साह रौनियार , समाजसेवी नागमणी उपाध्याय , विजय गुप्ता सहितका अतिथिहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु