वीरगञ्ज । वीरगञ्ज नाकास्थित शंकराचार्य गेटमा जनअधिकार पार्टी ले आइतबार धर्ना दिएको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा पार्टीका अध्यक्ष डा. शरदसिंह यादव को नेतृत्वमा नेता कार्यकर्ताले एक घण्टासम्म सडकमै बसेर प्रदर्शन गरेका हुन्।
धर्ना कार्यक्रममा अध्यक्ष यादवले सरकारले भन्सार कर असुल्ने नाममा नेपाल भारतबीचको परम्परागत ‘रोटी बेटी’ सम्बन्धमै खलल पुर्याउने नियतले उक्त नियम लागू गरेको आरोप लगाए। विशेषगरी सीमावर्ती मधेस क्षेत्रका नागरिकलाई सास्ती दिने गरी लागू गरिएको यो व्यवस्था तत्काल खारेज गर्नुपर्ने उनको माग छ।
उनले मधेसी मूलका बालेन शाह प्रधानमन्त्री हुँदा मधेसका जनता उत्साहित भए पनि सरकार गठन भएको २२ दिनमै यस्तो अप्रिय नियम लागू हुनु दुखद रहेको टिप्पणी गरे।
महँगी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै यादवले दैनिक उपभोग्य वस्तु खाद्यान्न, इन्धनलगायत को मूल्य दिनदिनै बढ्दै गएको तर सरकार कर असुलीमै केन्द्रित रहेको बताए। उनले यो निर्णयलाई “मधेसमाथिको अघोषित नाकाबन्दी” को संज्ञा समेत दिए।
सरकारले पछिल्ला दिनमा नेपाल–भारत सीमानाकामा राजस्व चुहावट रोक्ने उद्देश्यले १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गर्न थालेको छ। यसले सीमावर्ती क्षेत्रका नागरिकलाई प्रत्यक्ष असर पारेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
उल्लेखनीय छ, भन्सार महसुल ऐन २०८१ को दफा १३ को उपदफा (३) अनुसार यात्रुका लागि यो व्यवस्था २०८० जेठ १५ गतेदेखि नै लागू गरिएको भए पनि व्यवहारमा भने हालसम्म कार्यान्वयन गरिएको थिएन।
