आज:  | Mon, 13, Apr, 2026

सिंहदरबारमा संसद् बैठक आजदेखि, महत्वपूर्ण एजेन्डा अघि बढ्दै

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०७:४१ मा प्रकाशित (१ हफ्ता अघि)

वीरगञ्ज । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो संसद् अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले गत चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ ।

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमै बस्नेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ तथा १ स्वतन्त्र सांसद रहेका छन् ।

आजको बैठकमा तीनवटा अध्यादेश पेस हुने सम्भावित कार्यसूची रहेको छ । गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्ने कार्यक्रम छ ।

त्यसअघि सभाका ज्येष्ठ सदस्य/कार्यवाहक सभामुख अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा बैठकमा पढेर सुनाउनुहुनेछ ।

बैठकमा नेपालको संविधानको धारा १०४ अनुसार प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्मका लागि ‘प्रतिनिधिसभा नियमावली, २०७९’ बमोजिम काम कारबाही सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । यसबारे सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय ले जानकारी दिनुभएको छ ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ । साथै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।

यसै बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख निर्वाचनका लागि मिति तोक्ने कार्यसूची पनि रहेको छ ।

हिजो सम्पन्न सर्वदलीय बैठकले सभामुख निर्वाचनका लागि मिति तय गरिसकेको छ । तय कार्यतालिकाअनुसार आउँदो आइतबार सभामुखको निर्वाचन हुनेछ । संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार निर्वाचनको विस्तृत कार्यतालिका आजै सार्वजनिक गरिनेछ ।

संविधानअनुसार, प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । साथै, सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र दुवै फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।


सम्बन्धित खबरहरु