आज:  | Thu, 11, Aug, 2022

लोसपाकाे प्रदेश २ संसदीय दलको नेतामा सोनल निर्वाचित

दिशा निर्देश १२ आश्विन २०७८, मंगलवार ०८:१३ मा प्रकाशित (१0 महिना अघि)

जनकपुरधाम – प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

आइतबार दिउँसोदेखि चलेको बैठकमा सर्वसम्मतको प्रयास हुन नसकेपछि शिर्ष नेतृत्वको उपस्थितिमा अबेर राती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन् ।

प्रदेश २ मा लोसपाका १६ जना प्रदेश सभा सदस्यहरुले गरेको निर्वाचनबाट सोनल ९ मत ल्याई निर्वाचित भएका छन् भने प्रदेश सांसद उपेन्द्र महतोले ६ मत ल्याए । त्यस्तै एक मत बदर भएको थियो ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता सोनल नै थिए ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन गरिएको छ ।

सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम सोमबार खारेज समेत गरिसकेकी छन् ।


सम्बन्धित खबरहरु