वीरगञ्ज – विश्व मधुमेह दिवसका अवसरमा वीरगञ्जमा पनि विभिन्न सचेनामुलक कार्यक्रम गरिएकाे छ ।
दिवसका अवसरमा वीरगञ्ज महानगरपालिकाकाे स्वास्थ्य शाखाले महानगरकाे सभाहलमा स्वास्थ्य जाँच शिविर सञ्चालन गरेकाे छ । कार्यक्रमकाे मेयर राजेशमान सिंहले आफ्नो रगत परिक्षण गराइ उद्घाटन गरेका हुन् । मेयर सिंहले तालिका बनाइ महानगरका सम्पूर्ण कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाइ सुझाव पनि दिए ।
कार्यक्रममा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरुको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताए ।
मधुमेह उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसर पारेर हरेक वर्ष नोभेम्बेर १४ लाई विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि यो रोग उल्लेखनीय रुपमा बढिरहेको तथ्याङ्क छ । छिटो-छिटो पिसाब लाग्ने, मुखसुक्ने, बढी भोक लाग्ने, तौल घट्ने जस्ता मधुमेह रोगका लक्षणहरू हुन् । यसबाट जोगिन खानपिन र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने मेयर सिंहले सुझाव दिएका थिए ।
