आज:  | Tue, 21, Apr, 2026

दल दर्तापछि ठाकुर समूहले भन्यो– देउवा नेतृत्वकाे सरकारसँग सहकार्यको ढोका खुल्यो

Avatar photo दिशा निर्देश २ भाद्र २०७८, बुधबार १८:३१ मा प्रकाशित (४ साल अघि)

निर्वाचन आयोगमा बुधबार दर्ता भएको महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)का नेताहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सहकार्यको ढोका खुलेको जनाएको छ ।

बुधबार दिउँसो आयोगको कार्यालयमा जसपा लोकतान्त्रिक पार्टी दर्ता भएपछि नेता शरतसिंह भण्डारीले आफूहरुले उठाएको माग मुद्दा पूरा गर्न पनि सरकारसँग सहकार्यको आवश्यकता रहेको बताए ।

‘हामीले अघिल्लो सरकार (केपी ओली) लाई पनि माग, मुद्दा पूरा गर्ने सर्तमा सहयोग गरेका हौँ,’ भण्डारीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पनि हाम्रो मुद्दा सम्बोधन गर्नुपर्नेछ त्यही भएर सरकारसँग बृहतरुपमा सहकार्यको बाटो खुलेको छ ।’

तर, नयाँ पार्टी गठनको औपचारिक निर्णय नभएसम्म सरकारसँगको त्यो सहकार्य नहुने उनले बताए । साउन ३ गते शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा संघीय प्रतिनिधसभा बैठकमा विश्वासकाे मत लिँदा जसपाकाे महन्थ पक्षले विश्वासकाे मत दिएकाे थियाे ।

उनका अनुसार निर्वाचन आयोगमा दर्ता भएको जसपा लोकतान्त्रिक पार्टीमा २४ जना कार्यकारिणी सदस्य छन् । महन्थ ठाकुरलाई एकल अध्यक्ष बनाइएको जसपा लोकतान्त्रिक बहुपदमा गएको भण्डारीले बताए ।

‘अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्षसहितको पदाधिकारीको व्यवस्था गरिएको छ, तर अध्यक्षमा महन्थ ठाकुर मात्र अहिले राखेर दल दर्ता गराइएको छ, बाँकी पदाधिकारी छिट्टै नियुक्त गछौं,’ भण्डारीले थपे ।

उनका अनुसार पदाधिकारी छान्दा समावेशी र भूगोललाई प्राथमिकता दिइएको छ ।

१५ सांसद पुगे
जसपाको आधिकारिकता गुमाएका ठाकुर पक्षले नयाँ दल दर्ता गर्दा भने सांसदको संख्या बढाएको भण्डारीले दाबी गरे । हामीसँग १५ जना सांसद हुनुहुन्छ, त्यसमा रेशम चौधरी पनि हामीसँगै मिसिनु भएको छ,’ उनले भने ।

आधिकारिकता गुमाउँदा ठाकुर पक्षमा १२ सांसद र १६ केन्द्रीय कार्यकारिणी समितिका सदस्य थिए । दल दर्ताको लागि आवश्यक विधान, पार्टीको घोषणापत्र बुझाइएको छ ।

निर्वाचन आयोगले मान्यता दिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने जसपा लोकतान्त्रिकको तयारी छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच पहिलोपटक केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विवाद बढेको हो । त्यही विवादले जसपालाई विभाजन गराउने स्थानमा पुर्‍यायो ।

सरकारले मंगलबार दल विभाजन गर्ने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले सो अध्यादेशलाई बुधबार प्रमाणीकरण गरेर जारी गरेकी थिइन्।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको सूचना राजपत्रमा समेत प्रकाशित भएपछि ठाकुरसहितका नेताहरु निर्वाचन आयोग पुगेर जसपा लोकतान्त्रिक दल दर्ता गराएका हुन् । दलको चुनाव चिह्न साइकल राखिएको छ ।


सम्बन्धित खबरहरु