आज:  | Tue, 21, Apr, 2026

माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि : एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०७:३७ मा प्रकाशित (२ हफ्ता अघि)

वीरगञ्ज । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन् । जापानस्थित एभरेस्ट स्कुलसहित देशभरका १ हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ ।

नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी तथा सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ भने परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

यस वर्ष परीक्षा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन विशेष व्यवस्था गरिएको छ । उत्तरपुस्तिका परीक्षण प्रक्रियालाई छिटोछरितो बनाउँदै एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्रै परीक्षण प्रक्रिया सुरु गरी सक्ने योजना बनाइएको छ । उत्तरपुस्तिका परीक्षक र सम्परीक्षकलाई परीक्षण केन्द्रमै बसेर परीक्षण गर्न निर्देशन दिइएको छ ।

साथै, परीक्षण केन्द्र रहेका विद्यालयहरूमा सम्भव भएसम्म सिसिटिभी जडान गरिएको सुरक्षित कक्षमा परीक्षण र सम्परीक्षण गरिने व्यवस्था मिलाइएको छ । उत्तरपुस्तिका बाहिर लैजाने, अयोग्य व्यक्तिबाट परीक्षण गराउने, उत्तरपुस्तिका हराउने वा मिसिने जस्ता अनियमितता रोक्न कडा निगरानी गरिने जनाइएको छ ।

यस वर्ष सामूहिक अनुगमनमा समेत रोक लगाइएको छ । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

परीक्षा तालिकाअनुसार आज अनिवार्य अङ्ग्रेजी, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड तथा चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।


सम्बन्धित खबरहरु