आज:  | Tue, 21, Apr, 2026

अनैतिक प्रस्ताव अस्वीकार गर्दा धम्की : मधेश विश्वविद्यालयका कर्मचारी पक्राउ

Avatar photo दिशा निर्देश १८ चैत्र २०८२, बुधबार १०:३२ मा प्रकाशित (२ हफ्ता अघि)

वीरगञ्ज। मधेश विश्वविद्यालय मा कार्यरत एक कर्मचारी छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्सा को टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि बारम्बार दबाब दिँदै आएका थिए। उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने प्रलोभन देखाउने र अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ वा अनुत्तीर्ण गराइदिने धम्की दिने गरेका थिए।

पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप लगाएकी छन्। प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्य नै बिगार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख छ। सोही आधारमा छात्राले चैत १४ गते उजुरी दर्ता गराएकी थिइन्।

उजुरीपछि केही समय फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले आरोपितमाथि कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।


सम्बन्धित खबरहरु