आज:  | Tue, 21, Apr, 2026

लिची बगान घुस प्रकरण: पूर्वमन्त्री गुप्ता र श्रेष्ठको मुद्दा सुनुवाइ स्थगित

Avatar photo दिशा निर्देश १७ चैत्र २०८२, मंगलवार १३:१४ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मंगलबारका लागि पेसी तोकिएको थियो। तर, पूर्वमन्त्री गुप्ताका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो।

विशेष अदालतले उक्त प्रकरणमा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्। गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ हुँदै आएको छ।

श्रेष्ठ र अधिकारीलाई विशेष अदालतले जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको हो।

यसअघि सर्वोच्चले गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

मुद्दा अनुसार, तत्कालीन मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाएर घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। साथै, अख्तियारले गुप्ता र रञ्जिता श्रेष्ठमाथि आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ।

गुप्ताले भने अदालतमा दिएको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कसैसँग घुस नलिएको दाबी गरेका छन्। तर, अदालतले उपलब्ध प्रमाणका आधारमा उनलाई तत्काल निर्दोष ठहर गर्न नसकिने जनाएको छ।


सम्बन्धित खबरहरु