वीरगञ्ज । कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।
पूर्वमन्त्रीद्वयको मुद्दा मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि तय गरिएको हो।
विशेष अदालतले लिचि बगान घुस प्रकरणमा मुछिएका गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाले उनी सो आदेशविरुद्ध सर्वोच्च पुगेका हुन्।
गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको छ।
श्रेष्ठ र अधिकारीलाई विशेष अदालतले जनही पाँच लाख रुपियाँ धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगेको हो।
यसअघि सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्ताको निवेदनमा ‘कैफियत प्रतिवेदन’ माग गर्ने आदेश पनि दिएको थियो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले पोखराको लिचि बगान भ्रष्टाचार प्रकरणमा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
मुद्दा अनुसार, तत्कालीन मन्त्री गुप्ताले मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको थियो। अख्तियारले मन्त्री गुप्ता र रञ्जिता श्रेष्ठमाथि आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्न २५ लाख रुपियाँ घुस लिएको आरोप लगाएको थियो।
गुप्ताले अदालतमा बयान दिँदै आफूमाथि लागेको आरोप झूटो भएको र कसैसँग घुस नलिएको दाबी गरे पनि अदालतले उपलब्ध प्रमाणका आधारमा उनलाई निर्दोष ठहर गर्न नसकिने ठहर गरेको छ।
