आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जमा बालेन सरकारको समर्थनमा मोटरसाइकल र्‍याली

Avatar photo दिशा निर्देश १७ चैत्र २०८२, मंगलवार ०८:५१ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज । समाजसेवी तेज शमशेर जबराको नेतृत्वमा बालेन शाह नेतृत्वको सरकारप्रति समर्थन जनाउँदै वीरगञ्जमा भव्य मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

सरकारले हालसम्म गरेका कामहरू सकारात्मक रहेको जनाउँदै सयौँ युवाहरूको उत्साहजनक सहभागितामा पावरहाउस चोकबाट सुरु भएको र्‍याली घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा युवा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। जावेद इकबाल हैदर, शिव शंकर महतो, रमिता माया गुप्पता ,शिव शंकर ठाकुर, ऋषिकेश गुप्ता, तारिफ आलमलगायतका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सरकारको समर्थनमा नाराबाजी गर्दै विकास, सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता तेज शमशेर जबराले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएका छन्। “देशमा सकारात्मक परिवर्तनका संकेत देखिन थालेका छन्, त्यसैले हामी सबैले राम्रो कामको खुलेर समर्थन गर्नुपर्छ,” उनले भने।

कार्यक्रमको सहजिकरण जावेद इकबाल हैदरले गरेका थिए। साथै, उनले पनि सरकारको कामप्रति सन्तुष्टि व्यक्त गर्दै युवाहरूको सक्रिय सहभागितालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। “युवा पुस्ता देशको परिवर्तनको आधार हो, त्यसैले सही कामको साथ दिनु हाम्रो दायित्व हो,” उनले बताए।

उनले सबैलाई एकजुट भई विकास र समृद्धिको यात्रामा सरकारलाई सहयोग गर्न समेत आग्रह गरेका थिए।


सम्बन्धित खबरहरु