वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यकर्ताहरू आक्रोशित हुँदै सडकमा उत्रिएका छन्।
अध्यक्षको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय संगठनहरूले जिल्ला अदालत काठमाडौं अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका हुन्।
एमाले सम्बद्ध २३ वटा जनवर्गीय संगठनहरूले एकीकृत रूपमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन थालेका छन्। प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलमठेल हुँदा स्थिति तनावपूर्ण बनेको थियो।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारे पनि उनीहरू समूह बनाएर अघि बढिरहेका छन्। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जुलुस बबरमहल पुगेपछि कार्यकर्ताहरूले सडकमै टायर बालेर यातायात अवरुद्ध पारेका छन्।
सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनकारीहरूले आफ्ना अध्यक्षलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। हाल बबरमहल र माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।