वीरगञ्ज । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि वर्तमान राजनीतिक घटनाक्रमलाई प्रतिशोधको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले विगतमा राज्यका प्रमुख प्रशासनिक संरचनामा भएको तोडफोड तथा आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुनुपर्ने माग गरेका छन्।
उनले मानिसहरूले आफ्नो कुरा ढिलो गरी बुझ्ने गरेको उल्लेख गर्दै ओखलढुङ्गामा आयोजित एक कार्यक्रममा आफूले पहिल्यै प्रतिशोधको राजनीति हुने चेतावनी दिएको स्मरण गराए। “अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति हाम्रो पार्टीले मात्र गर्छ,” भन्ने आफ्नो भनाइलाई दोहोर्याउँदै उनले अब देशमा आन्दोलनकै श्रृंखला देखिने दाबी गरेका छन्।
साम्पाङले भनेका छन्, “मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुङ्गाको कार्यक्रममा भन्या थिएँ । अरू जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !”
यसै सन्दर्भमा उनले आन्दोलनका क्रममा भएका तोडफोडका घटनालाई पनि उठान गरेका छन्। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका सरकारी संरचनामा भएको आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने उनको माग छ।
राज्यको सम्पत्ति नष्ट गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै उनले यस्ता कृत्यमा संलग्नहरूलाई गिरफ्तार गरेर कडा सजाय दिनुपर्ने बताएका छन्।