वीरगञ्ज । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार मात्रै अदालतमा पेश गर्ने भएको छ।
शनिबार बिहान पक्राउ परेका उनीहरूलाई आज अदालत बन्द हुने भएकाले आइतबार पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि दुवैलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ।
ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सक्ने व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४मा उल्लेख छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको थियो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उक्त आयोगले ओली, लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ गर्नुअघि ओलीलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जीसमेत थमाइएको थियो।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन्। ओली र लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारेका छन्।