वीरगञ्ज । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले दिएका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गर्दै सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययनका लागि छुट्टै समिति गठन गर्ने तथा अन्य पक्षमा तत्काल कारबाही अघि बढाउने निर्णय गरेको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाहीका लागि सिफारिस गरेको थियो। उक्त प्रतिवेदन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई बुझाइएको थियो, जसलाई अब सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले नवयुवा आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ।
यसैबीच, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी तोकेको छ। प्रवक्ता पोखरेलका अनुसार बैठकले शासकीय सुधारसम्बन्धी विभिन्न योजनाहरू समेत स्वीकृत गरेको छ।