काठमाडौं। रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सकिएको छ। अब उक्त मुद्दाको अर्को सुनुवाइ आइतबारका लागि तय गरिएको छ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा केही दिनयता निरन्तर सुनुवाइ भइरहेको छ।
यसअघि मंगलबार रिट निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए भने आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलहरूले जवाफी बहस प्रस्तुत गरेका छन्।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेको हकमा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि आलोचना बढेपछि उनले २ माघमा अन्य सबै आरोपितहरूको हकमा पनि सोही निर्णय लागू गरेकी थिइन्।
यसअघि सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको मुद्दा फिर्तासम्बन्धी निर्णयसम्बन्धी कागजात समेत झिकाइसकेको छ।
