आज:  | Tue, 21, Apr, 2026

रास्वपाबाट निर्वाचित पर्सा र बाराका तीन सांसदले भोजपुरीमा शपथ लिने

Avatar photo दिशा निर्देश १२ चैत्र २०८२, बिहीबार १२:२९ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यले आज हुने शपथ ग्रहण कार्यक्रममा भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद (हरि) पन्त, पर्सा २ का सुशील कुमार कानु र बारा ३ का ई. अरविन्द साहले भोजपुरी भाषा रोजेका हुन्। उनीहरूको यो निर्णयलाई तराई–मधेस क्षेत्रको भाषा र संस्कृतिप्रति सम्मानको रूपमा हेरिएको छ।

पन्तको मातृभाषा नेपाली भए पनि आफू निर्वाचित भएको क्षेत्रको भाषिक पहिचानलाई सम्मान गर्न उनले भोजपुरीमा शपथ लिने निर्णय गरेका छन्। “मातृभाषा फरक भए पनि कर्मभूमिको भावना र पहिचानलाई सम्मान गर्नुपर्छ,” उनले बताएका छन्।

सुशील कुमार कानुको मातृभाषा नै भोजपुरी हो। उनले भोजपुरीमा शपथ लिनु आफ्नो पहिचान र अस्मितासँग जोडिएको विषय भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय स्तरमा तराई–मधेसका भाषाको उपस्थिति मजबुत बनाउने प्रयासका रूपमा लिएका छन्।

त्यस्तै, ई. अरविन्द साह लामो समयदेखि भोजपुरी भाषा संरक्षण र प्रवर्द्धनमा सक्रिय छन्। उनले मातृभाषामै शपथ लिँदै भाषाप्रति कृतज्ञता व्यक्त गर्नुका साथै यसको विकास र दस्तावेजीकरणमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

यसपटकको शपथ ग्रहण कार्यक्रममा करिब ४० भन्दा बढी सांसदले नेपालीबाहेक विभिन्न मातृभाषा तथा रुचिका भाषामा शपथ लिने तयारी गरेका छन्। भोजपुरीसँगै नेपाल भाषा (नेवा:), मैथिली, डोटेली, थारु, तामाङ, बज्जिका, संस्कृत र बान्तवा लगायतका भाषाको प्रयोग हुने बताइएको छ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुने कार्यक्रमलाई समावेशी र बहुभाषिक बनाउने प्रयासका रूपमा हेरिएको छ।


सम्बन्धित खबरहरु