काठमाडौँ । कम्बोडियामा अनलाइन ठगी तथा विभिन्न गैरकानुनी गतिविधिमा फसाइएका थप ५१ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरू अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा संलग्न गराइएका, ठगीमा फसाइएका तथा बिनाभिसा बसिरहेका अवस्थामा भेटिएका थिए। ती सबैलाई हिजो स्वदेश फर्काइएको हो।
थाइल्याण्डस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको दूतावासले जनाएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय नेपालीहरूको आगमन उल्लेख्य रूपमा बढेको देखिन्छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा यो संख्या १ हजार ९७७ पुगेको थियो। त्यस्तै, सन् २०२३ मा २ हजार ९४०, सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा ९ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेको तथ्याङ्कमा उल्लेख छ।
सरकारले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन आग्रह गर्दै आएको छ। साथै, छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशमा भ्रमणको बहाना गरी अवैध रूपमा रोजगारीका लागि नजान पनि सचेत गराइएको छ।