वीरगञ्ज । मधेसको आस्था र श्रद्धाको महान् पर्व चैती छठ बुधवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ।
चैत शुक्ल चतुर्थीदेखि सुरु भएको चार दिने छठ पर्वको अन्तिम दिन सप्तमी तिथिमा व्रतालुहरूले वीरगञ्जस्थित रानीघाटको सिर्सिया नदी, घडिअर्वा, नगवा, मुर्ली, छपकैया पोखरीलगायत पर्सा जिल्लाका विभिन्न नदी, पोखरी र खोलाका घाटहरूमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्। यससँगै चैती छठ पर्व औपचारिक रूपमा समापन भएको छ।
वर्षमा दुई पटक मनाइने छठ पर्वमध्ये कार्तिकमा पर्ने छठलाई मुख्य मानिए पनि चैती छठको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेको ज्योतिष सम्राट् डा. पुरुषोत्तम दुबे बताउँछन्। उनका अनुसार छठ पर्वले मधेसको सामाजिक एकता, परम्परा र आस्थालाई अझ मजबुत बनाउने काम गर्दछ।
छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु गरिन्छ, जसमा व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै व्रतको संकल्प लिन्छन्। दोस्रो दिन ‘खरना’ पूजा गरिन्छ, जसमा दिनभर निर्जल उपवास बसेपछि साँझ सख्खरमा पकाइएको खिर र रोटी प्रसादको रूपमा ग्रहण गरिन्छ।
तेस्रो दिन षष्ठीमा व्रतालुहरूले निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्, जसलाई स्थानीय भाषामा ‘सँझिया घाटको अरघ’ भनिन्छ। अन्तिम दिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोर घाटको अरघ’ वा ‘पारन’ विधिबाट व्रत सम्पन्न गरिन्छ।
यस अवसरमा व्रतालुहरूले ठेकुवा, केरा, उखु, सुन्तला, निबुवा, बोडी, सुथनी, मुला लगायतका प्रसाद सूर्यदेवतर्फ अर्पण गरेका थिए।
पर्सा जिल्लाका विभिन्न छठ घाटहरू रङ्गीचङ्गी फूल, बत्ती र बाँसका संरचनाले सिँगारिएका थिए। बिहानैदेखि घाटहरूमा व्रतालु तथा दर्शनार्थीको भीड लागेको थियो। भजन–कीर्तन र लोकगीतले वातावरणलाई थप भक्तिमय बनाएको थियो।
रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले पर्व शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको जानकारी दिए। “चार दिनसम्म व्रतालुले कठोर नियम पालना गर्दै सूर्यदेवको आराधना गरे। छठ हाम्रो गहिरो आस्थासँग जोडिएको पर्व हो,” उनले बताए।
छठ पर्व सूर्यदेव र षष्ठी माताको उपासना गर्ने विशेष अवसरका रूपमा लिइन्छ। जनविश्वासअनुसार यस व्रतले सन्तान सुख, स्वास्थ्य लाभ तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार पाण्डव पत्नी द्रौपदीले सूर्य उपासना गरी संकटबाट मुक्ति पाएकी थिइन् भने रामायणमा भगवान राम र सीताले पनि सूर्यको पूजा गरेको उल्लेख पाइन्छ।
मधेस क्षेत्रमा हजारौँ वर्षदेखि मनाइँदै आएको छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता, सूर्यको ऊर्जाप्रतिको सम्मान र सामुदायिक सद्भावलाई झल्काउँछ। नयाँ पुस्तामा पनि यसको महत्व उत्तिकै रहँदै आएको छ, जसले परम्परा र संस्कृतिलाई निरन्तरता दिइरहेको छ।

अध्यक्ष – नवराज फुयाँल
सम्पादक – हेमन्त तामाङ
सञ्चालक एवं व्यवस्थापक – आबिद हुसेन
समाचार सम्पादक – सत्यराज घिमिरे-
संवाददाता – जोतीलाल पंडित
विज्ञापनका लागि सम्पर्क :- +९७७ ९८५१२०८९९३
वीरगञ्ज महानगरपालिका ९, पर्सा, प्रदेश नं. २
फोन नं.: +९७७ ९८५१२०८९९३, ९८४५२२८६३८
ईमेल:- news@disanirdesh.com