वीरगञ्ज। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले शपथ लिएका हुन्। शपथ समारोहमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सांसद केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।