आज:  | Tue, 21, Apr, 2026

इस्लामावाद: अमेरिका–इजरायल र इरानबीच तनाव कम गर्न पाकिस्तान सक्रिय मध्यस्थकर्ता

Avatar photo दिशा निर्देश १० चैत्र २०८२, मंगलवार १४:५२ मा प्रकाशित (४ हफ्ता अघि)

इस्लामावाद । अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमणको २४औँ दिनमा पाकिस्तानले टर्की र इजिप्टसँग मिलेर मध्यस्थताका लागि कूटनीतिक पहल तीव्र बनाएको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार यी तीन देशको समन्वयले अमेरिकाले इरानको ऊर्जा र विद्युत् संरचनामाथि गर्ने योजना बनाएको आक्रमण पाँच दिनका लागि स्थगित गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उक्त स्थगन घोषणा गर्दै पछिल्ला दिनहरूमा इरानसँग ‘सकारात्मक र फलदायी वार्ता’ भएको बताएका छन्। यद्यपि स्थगन सर्तसहित सीमित रहेको छ र केवल ऊर्जा तथा विद्युत् संरचनामा मात्रै लागू हुने जनाइएको छ।

पाकिस्तानी अनलाइन डनका अनुसार, टर्की, इजिप्ट र पाकिस्तानले केवल वक्तव्य मात्र नभई व्यवहारमै पहल गर्दै वासिङ्टन र तेहरानबीच दूरी घटाउने काम गरिरहेका छन्। वासिङ्टनस्थित कूटनीतिज्ञहरूले पनि पाकिस्तान र टर्की दुवै इरानसँग सीमा जोडिएका देश भएकाले उनीहरू तनाव रोक्न सक्रिय रहेको बताए।

इजिप्टको भूमिका फरक भए पनि महत्वपूर्ण छ। अरब संसारको ठूलो राष्ट्र र इजरायलसँग प्रत्यक्ष संवाद गर्न सक्ने देश भएकाले कायरोले दुवै पक्षबीच सन्देश आदानप्रदान गर्न सक्ने वातावरण बनाएको छ।

रिपोर्टअनुसार तीन देशका वरिष्ठ अधिकारीहरूले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानका विदेशमन्त्री अब्बास अर्घाचीसँग छुट्टाछुट्टै सम्पर्क गरी सन्देश आदानप्रदान गरिरहेका छन्। यद्यपि वासिङ्टन र तेहरानबीच प्रत्यक्ष वार्ता भइसकेको छैन।

पाकिस्तान केही समयदेखि मध्यस्थकर्ताको भूमिकामा रहेर अमेरिकी सन्देश इरानसम्म पुर्‍याउने र फर्काउने काम गर्दै आएको छ। पछिल्ला दिनमा ऊर्जा संरचना र स्ट्रेट अफ हर्मुज वरिपरि तनाव बढेसँगै पाकिस्तानको कूटनीतिक सक्रियता अझ बढेको छ।

पाकिस्तानी अधिकारीका अनुसार वार्ता केवल अस्थायी स्थगनमा सीमित नभई तनाव घटाउने, होर्मुज जलक्षेत्र खोल्ने र युद्ध अन्त्यका सर्तहरू तय गर्ने विषयमा केन्द्रित छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले केही ‘मैत्रीपूर्ण देश’मार्फत् सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्।

इस्लामावादमा यो घटनालाई पाकिस्तानको कूटनीतिक रणनीतिको सफलताका रूपमा हेरिएको छ। प्रधानमन्त्री शाहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग टेलिफोन संवाद गर्दै बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका थिए।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीका अनुसार, “यदि दुवै पक्ष तयार भए, इस्लामावाद वार्ताका लागि सधैं खुला छ। पाकिस्तान सधैं शान्ति र स्थायित्वको पक्षमा रहेको छ।”

विश्लेषकका अनुसार पाकिस्तानको भूमिका यसको तेहरान र वासिङ्टन दुवैसँगको पहुँचमा आधारित छ, जुन वर्तमान भू–राजनीतिक अवस्थामा दुर्लभ संयोजन बनेको छ। यसले पाकिस्तानलाई अमेरिका–इरान तनाव कम गर्ने सम्भावित प्रभावकारी मध्यस्थकर्ताको रूपमा स्थापित गरेको देखिन्छ।


सम्बन्धित खबरहरु