आज:  | Tue, 21, Apr, 2026

कांग्रेसको १५औँ महाधिवेशन: सभापति थापाले राजीनामा र नेतृत्वबारे स्पष्ट पार्दै

Avatar photo दिशा निर्देश १० चैत्र २०८२, मंगलवार १४:४९ मा प्रकाशित (४ हफ्ता अघि)

वीरगञ्ज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा १५औँ महाधिवेशन बोलाउने विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको छ।

पार्टीले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको बताइएको छ।

बैठकमा सभापति गगनकुमार थापाले सम्बोधन गर्दै हालै दिएका राजीनामाबारे स्पष्टीकरण दिएका छन्। उनले कुनै दबाबमा नभई स्वेच्छाले राजीनामा दिने निर्णयमा पुगेको र निर्वाचनलगत्तै राजीनामा दिन चाहेको तर प्राविधिक कारणले ढिलाइ भएको उल्लेख गरे। उनले चैत ३ गते नै राजीनामाको विषय टुंग्याएको जानकारी पनि दिएका छन्।

“म नेपाली कांग्रेसको सभापति हुँ, टिमको क्याप्टेन हुँ। मेरो नेतृत्वमा पार्टी चुनावमा गएको हो, त्यसैले म जवाफदेही हुनुपर्छ,” उनले भने। थापाले पार्टीभित्रका उपसभापति र महामन्त्रीहरूसमेतप्रति जवाफदेही हुनुपर्ने महसुस गर्दै राजीनामा दिएको बताए। यसबीच कार्यकर्ताबाट ठूलो माया, विश्वास र समर्थन पाएको अनुभव पनि उनले साझा गरे।

गत बुधबार दिएका राजीनामालाई आइतबार बसेको केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको थियो। मंगलबारको बैठकमा सभापति थापा उपस्थित भएर छलफलमा सम्बोधन गर्दै महाधिवेशनबाट अन्तिम निर्णय हुने स्पष्ट पारेका छन्। उनले अब “को सही र को गलत” भन्ने बहसमा अल्झिनु आवश्यक नभएको र महाधिवेशनले अन्तिम टुंगो लगाउने बताए।

थापाले महाधिवेशनको समय र प्रक्रियाबारे आफूले प्रस्तावहरू राख्ने तयारी गरेको पनि बैठकमा जानकारी दिएका छन्।


सम्बन्धित खबरहरु