वीरगञ्ज। सशस्त्र प्रहरी बल नेपाल पर्साले स्रोत नखुलेको २० लाखभन्दा बढी नगदसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको चेकपोष्ट टोलीले शुक्रबार (चैत ६ गते) बिहान करिब ११:५० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा विशेष सूचनाको आधारमा जाँच गर्ने क्रममा उक्त व्यक्तिलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05BK 8603 नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक वीरगञ्ज महानगरपालिका–१७ अलौ निवासी करिब ५० वर्षीय विनय शंकर साह तुरहाले मोटरसाइकलको सिटमुनि प्लास्टिकमा लुकाएर ल्याएको नगद बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको रकममा नेपाली रुपैयाँ १००० दरका १,३०२ थान (१३ लाख २ हजार), ५०० दरका १,४०० थान (७ लाख), ५० दरको १ थान (५० रुपैयाँ) र भारतीय रुपैयाँ १०० दरका ६ थान (६०० रुपैयाँ) रहेका छन्। यसरी जम्मा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६०० रुपैयाँ बरामद भएको हो।
साथै, उक्त व्यक्तिबाट सामसुङ ग्यालेक्सी A15 मोडलको मोबाइल फोन र ‘वीरगञ्ज भन्सार एजेन्ट संघ, पर्सा’ उल्लेख भएको परिचयपत्रसमेत बरामद गरिएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद नगद तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
