वीरगञ्ज । “सीप सिकौं, रोजगार गरौं” भन्ने मूल नारासहित वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा ४५ दिने (९० घण्टे) सिलाइ–कटाइ तालिम सुरु भएको छ। सरिता सीप कला केन्द्रको आयोजना तथा वडा कार्यालयको सहयोगमा तालिम सञ्चालनमा ल्याइएको हो।
तालिमको उद्घाटन वडा नम्बर २१ का अध्यक्ष राधाकृष्ण रौनियारले दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा बोल्दै उनले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताए।
उनले भने, “आजको समयमा महिलाहरू घरमै सीमित नभई आत्मनिर्भर बन्नु जरुरी छ। यस्ता तालिमले उनीहरूलाई सीपसँगै आयआर्जनको बाटो पनि खोल्छ।”
रौनियारले तालिममा सहभागी सबैलाई नियमित उपस्थित भई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिने स्पष्ट पारे।
वडा सचिव राजीव गिरीले तालिमको उद्देश्य सहभागीहरूको सीप विकास गर्दै आयआर्जनमा सहयोग पुर्याउनु रहेको बताए। उनले सिकेका सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सहभागीहरूलाई प्रेरित गरे।
तालिममा प्रशिक्षकका रूपमा माला रौनियार, सरिता गुप्ता, कृष्ण कुशवाहा, राजन पटेल, कृष्ण दास, धर्मशिला कुशवाहा, बिन्दु श्रेष्ठ, रामाधेश कुशवाहा र बंशीधर गुप्ता रहेका छन्।
सरिता गुप्ताको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर २१ का करिब ६० जना युवती तथा महिलाहरूको सहभागिता रहेको स्थानीय समिर आलमले जानकारी दिए ।
