आज:  | Tue, 21, Apr, 2026

दलितका सवालमा समबेदनशिल हुन राष्ट्रिय दलित आयोगको आग्रह

Avatar photo दिशा निर्देश ३ चैत्र २०८२, मंगलवार १८:१८ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले दलितका सवालमा समबेदनशिल हुन अनुरोध गरेका छन् । सोमबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक लगायतसँगको छलफलका क्रममा उनले दलितका मुद्दालाई प्राथमिकता दिन आग्रह गरे ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा न. ५ महुवनमा भएको कुटपिटको घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई पिडितलाई न्याय दिलाउन पनि उनले माग गरे । नेपालको संविधानमै भएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यन्वयन गरेमा कोही पनि दलित समुदाय न्यायका लागि भौतारिनु नपर्ने बताउँदै उनले जातिय विभेदसँग जोडिएको घटनामा कसैसँग सम्झौता नगर्ने अडान राखे ।

उनले भने, ‘जातिय विभेदजन्य घटना भएमा जसरी पनि दोषिलाई कानुनबमोजिम कारवाही हुनुपर्छ । यसमा राजनीतिक हस्तक्षेप वा कुनै पनि किसिमको दबाब र प्रभाव सह्य हुँदैन ।’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कानुनले कसैलाई पनि काखा र पाखा नगर्ने बताए । दलित समुदायका सवालमा प्रहरी र प्रशासन सँधै सकारात्मक रहेको उनको भनाई छ । दाहालले भने, ‘हामी जात, धर्म, लिंग केही पनि हेर्दैनौ । सबै हाम्रा लागि सेवाग्राही हुन् । र हामी सरकारी कर्मचारी भनेकै जनताको सेवक हौँ । त्यही भएर हामीले कसैलाई पनि सेवा प्रवाहमा विभेद गर्दैनौ ।’

दलितका विषयलाई सुक्ष्म ढंगले समबेदनशिलपूर्वक अध्ययन तथा अनुसन्धान गरीरहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक दाबी गर्छन् । उनकाअनुसार जातिय वा साम्प्रदायिक विषय नभएपनि राजनीतिको रोटी सेक्न जातियतासँग जोडिने गरिएको छ । यस्ता प्रवृत्ति प्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै उनले महुवनको घटनालाई पनि प्रहरीले प्राथमिकताका साथ अनुसन्धान गरीरहेको अवगत गराए ।

प्रहरीले उजुरी दर्ता गर्नुका साथै घाउ चेक केस फारम गरीसकेका हुँदा छिटै अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाही र पिडितलाई न्याय दिलाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

सो अवसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, दलित अगुवा अशोक राउत, मानदेव हजरा, लबकुश बैठा, दलित अभियानता मनोज राम, सुरेन्द्र पासवान, उर्मिला महतो लगायतको उपस्थिती रहेको थियो ।

त्यसअघि आयोगको टोलीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा न. ५ महुवनमा पुगेर घटनामा चोटपटक लागेर घाइते भएकाहरुसँग भेटघाट गरेको थियो ।


सम्बन्धित खबरहरु