वीरगञ्ज। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १४ महिला निर्वाचित भएकी छन्। प्रत्यक्षतर्फ निर्वाचित हुनेमा १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की र एक जना नेपाली कांग्रेसकी उम्मेदवार हुन्।
रास्वपाबाट प्रत्यक्षतर्फ विजयी महिला उम्मेदवारमा झापा–१ बाट इन्दिरा रानामगर, झापा–२ बाट इन्दिरा मगर, चितवन–३ बाट सोविता गौतम, मोरङ–६ बाट रुबिना आचार्य, झापा–१ बाट निशा डाँगी, सर्लाही–१ बाट नितिमा भण्डारी, ललितपुर–३ बाट डा. तोसिमा कार्की, धादिङ–१ बाट आशिका तामाङ, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी, कास्की–३ बाट बिना गुरुङ, मोरङ–५ बाट आशा झा, महोत्तरी–४ बाट गौरी कुमारी, कैलाली–१ बाट कोमल ज्ञवाली र काठमाडौँ–१ बाट रञ्जु न्यौपाने रहेका छन्।
कांग्रेसबाट दैलेख–१ मा उम्मेदवार बनेकी बासना थापाले प्रत्यक्षतर्फ निर्वाचित भएकी छन्।
काठमाडौँ–१ बाट रञ्जु न्यौपाने १५,४५५ मतसहित विजयी भइन् र कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीलाई पराजित गरिन्। चितवन–३ बाट सोविता गौतम ५९,२७७ मतसहित विजयी भइन् र नेपाली कम्युनिस्ट पार्टीकी पूर्व मेयर रेनु दाहाललाई पराजित गरिन्। ललितपुर–३ बाट डा. तोसिमा कार्की ४३,९६ मतसहित विजयी भइन् र कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई हराइन्। मोरङ–६ बाट रुबिना आचार्य ५५,५१३ मतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२,८५० मत प्राप्त गरे। कास्की–३ बाट बिना गुरुङले कांग्रेस उम्मेदवार मनोज गुरुङलाई पराजित गरिन्। कैलाली–१ बाट कोमल ज्ञवाली १७,८६२ मतसहित निर्वाचित भइन्। मोरङ–५ बाट आशा झा ३०,४३४ मतसहित विजयी भइन्।
सर्लाही–१ मा नितिमा भण्डारी कार्की ४४,१८१ मतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार शम्भुलाल श्रेष्ठले ७,८७१ मत प्राप्त गरे। झापा–१ बाट निशा डाँगी ४५,६८० मतसहित विजयी भइन् र कांग्रेस उम्मेदवार केशवराज पाण्डे १०,५५० मतमा सीमित भए। डाँगी २०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहि थिइन्।
झापा–२ बाट इन्दिरा मगर ६०,११० मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सभामुख देवराज घिमिरेले ११,३३८ मत मात्र ल्याए। मगर २०७९ मा पनि समानुपातिकतर्फ रास्वपाकी प्रतिनिधिसभा सदस्य थिइन् र उपसभामुखको जिम्मेवारी सम्हालेकी थिइन्। धादिङ–१ बाट आशिका तामाङ ३९,१२८ मतसहित विजयी भइन्, उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीले १५,३२ मत प्राप्त गरे। सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी ३८,१९५ मतसहित विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमितकुमार ७,८४७ मतमा सीमित भए।
महोत्तरी–४ मा गौरी कुमारी ३०,१३२ मतसहित विजयी भइन्, उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८,७४२ मत प्राप्त गरे। रास्वपाले प्रतिनिधिसभा १६ महिला उम्मेदवार बनाएकोमा १३ जनाले विजय हासिल गरेका छन्। पराजित उम्मेदवारमा जुम्लाबाट बिनिता कठायत, सुनसरी–१ बाट गोमा तामाङ र हुम्लाबाट टासी ल्हान्जोम रहेका छन्।
कांग्रेसबाट दैलेख–१ बाट उम्मेदवार बनेकी बासना थापाले १२,३७२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रविन्द्रराज शर्माले ११,७९६ मत मात्र प्राप्त गरे।
