वीरगञ्ज । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ। हालसम्म एक करोड ७ लाख ३० हजारभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक मत प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ। ताजा मतपरिणामका आधारमा रास्वपाले समानुपातिकतर्फ करिब ५८ सिट पाउने देखिएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकबाट ५८ सिट पाए प्रतिनिधिसभामा दुई तिहाइ पुग्न एक सिट कम हुनेछ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ। दुई तिहाइ पुर्याउन रास्वपाले समानुपातिकतर्फ ५९ सिट ल्याउनुपर्ने हुन्छ।
यद्यपि ५८ सिट प्राप्त भए पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई रास्वपाले समर्थन गरेको र उनको साथ पाएमा रास्वपाको सांसद संख्या १८४ पुग्ने सम्भावना देखिएको छ।
समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपाभन्दा करिब ३४ लाख मतले पछि परेको छ। नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत प्राप्त गरेको छ। यो मतका आधारमा कांग्रेसले समानुपातिकतर्फ करिब २० सिट जित्ने देखिन्छ। प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसको संसदमा कुल संख्या ३८ देखि ४० पुग्ने अनुमान गरिएको छ।
त्यस्तै नेकपा (एमाले) ले समानुपातिकतर्फ १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरेको छ। यस आधारमा एमालेले समानुपातिकतर्फ १६ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको संसदमा कुल संख्या करिब २५ पुग्नेछ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ८ लाख ४ हजार १७१ मत पाएको छ। यस आधारमा नेकपाले समानुपातिकतर्फ ९ सिट जित्ने देखिन्छ। प्रत्यक्षमा ७ सिट जितेको नेकपा १७ सिटसहित संसदमा प्रवेश गर्ने सम्भावना देखिएको छ।
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि राष्ट्रिय दलको हैसियत हासिल गरिसकेको छ। हालसम्म उसले समानुपातिकतर्फ ३ लाख ७८ हजार ५९४ मत प्राप्त गरेको छ। यस आधारमा चार सिट जित्ने देखिन्छ। प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीको प्रतिनिधिसभामा कुल सात सिट हुनेछ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ३ लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ। यस आधारमा राप्रपाले चार सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा संसदमा पाँच सिटसहित छैटौँ दल बन्ने सम्भावना छ।
अन्य दलहरूले भने हालसम्म थ्रेसहोल्ड पार गर्न सकेका छैनन्। थ्रेसहोल्ड कटाउन नसक्ने दलहरू राष्ट्रिय पार्टी बन्न पाउने छैनन्।
हालसम्म जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ र जनमत पार्टीले ७८ हजार ९४९ मत प्राप्त गरेका छन्।
यसैबीच प्रत्यक्षतर्फको १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जित्दा एमाले ९ र नेकपा ७ सिटमा सीमित भएका छन्। श्रम संस्कृति पार्टीले ३ सिट जित्दा राप्रपा र स्वतन्त्र उम्मेदवारले एक–एक सिट जितेका छन्।
उम्मेदवारी खारेजको विषयमा विवाद भएको धनुषा–१ को मतपरिणाम भने आयोगले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
