वीरगञ्ज । गएको बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिरवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण पेश गर्नुभएको छ।
निर्वाचन कार्यालय चितवनमा उहाँले बुझाउनुभएको विवरणअनुसार चुनावी अभियानमा कुल ९ लाख ८९ हजार ९८६ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
उक्त विवरणअनुसार मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, नमूना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ, यातायात तथा इन्धन खर्चमा २ लाख ९५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण र खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँ खर्च भएको जनाइएको छ।
लामिछाने ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
यसअघि झापा–५ बाट निर्वाचित रास्वपाका वरिष्ठ नेताबालेन्द्र शाहले पनि आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नुभएको छ। उहाँले चुनावी अभियानमा १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएको थियो।
यसैगरी अन्य केही उम्मेदवारहरूले पनि आफ्नो चुनावी खर्च सम्बन्धित निर्वाचन आयोगका कार्यालयमा बुझाइसकेको जनाइएको छ।