आज:  | Tue, 21, Apr, 2026

पर्साका मतदाताप्रति रास्वपा जिल्ला सभापति पन्तको आभार

Avatar photo दिशा निर्देश २७ फाल्गुन २०८२, बुधबार १२:३४ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति तथा पर्सा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तले जिल्लाका चारै निर्वाचन क्षेत्रमा अत्याधिक मत दिएर पार्टीका उम्मेदवारहरूलाई विजयी गराएकोमा मतदाता, शुभेच्छुक तथा पार्टी कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

पन्तले पर्साका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरका रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा मसहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा साथीभाइ र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।

मतदाताहरूको साथ, सहयोग र मार्गदर्शनकै कारण देशभर परिवर्तनको लहर आएको उनको दाबी छ। “तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” पन्तले भनेका छन्।

आगामी दिनमा पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमाथि परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी आएको उनले बताए।

देशलाई प्रगतिको बाटोमा लैजाने यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वाद आवश्यक रहने पनि उनले उल्लेख गरेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाबाट पर्सा–१ मा हरि पन्त, पर्सा–२ मा सुशीलकुमार कानु, पर्सा–३ मा रामाकान्त चौरसिया र पर्सा–४ मा टेकबहादुर शाक्य फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। समानुपातिकतर्फ पनि पर्सा जिल्लामा रास्वपा नै पहिलो पार्टी बनेको छ।


सम्बन्धित खबरहरु