वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर बरामद गरेको हो।
प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षाबाट गाँजा लोड गरेर भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोनवर्षाबाटै उक्त ट्याक्टरलाई प्रहरीले पछ्याउँदै गएकोमा जगरनाथपुर गाउँपालिका ४ पुगेपछि तस्करहरूले गाँजासहितको ट्याक्टर छाडेर फरार भएका थिए।
ट्याक्टर धनी तथा गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। बरामद गाँजासहितको ट्याक्टर इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार फरार रहेका ट्याक्टर चालक, धनी तथा संलग्न तस्करहरूको खोजी कार्य जारी रहेको छ।
