वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार केही जिल्लामा सामान्य विवाद तथा प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भए पनि अहिले ती स्थानहरूमा पुनः मतदान सुचारु भइसकेको छ। उनका अनुसार सर्लाही, स्याङ्जा र दोलखा लगायतका केही जिल्लामा थोरै समयका लागि मतदान रोकिएको थियो। तर स्थानीय प्रशासनको सक्रियता र आयोगको तत्काल सहजीकरणका कारण ती ठाउँहरूमा मतदान प्रक्रिया पुनः सञ्चालनमा आएको छ।
यसैगरी ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लामा मतदाताहरूले स्थानीयस्तरका केही माग राखेको विषय पनि आयोगको ध्यानाकर्षणमा आएको प्रवक्ता भट्टराईले बताए। ती स्थानहरूमा स्थानीय प्रशासनले मतदातासँग समन्वय र सहजीकरण गर्दै समस्या समाधान गर्ने प्रयास गरिरहेको आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म कुनै पनि ठूला अप्रिय घटना नभएको र सानातिना समस्यालाई स्थानीयस्तरमै समाधान गर्दै मतदान प्रक्रियालाई निरन्तरता दिइएको छ।
देशभरका २३ हजार ११२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको भन्दै समग्र शान्ति–सुरक्षा अवस्था तथा मतदानको वातावरण सकारात्मक र आशालाग्दो रहेको आयोगले निष्कर्ष निकालेको छ।
