आज:  | Tue, 21, Apr, 2026

पर्सा–२ का उम्मेदवार मनोज चौधरी सवार गाडीमा शंकास्पद वस्तु, चार जना नियन्त्रणमा

Avatar photo दिशा निर्देश २० फाल्गुन २०८२, बुधबार ११:२६ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । पर्सा–२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

पर्सागढी नगरपालिका–३, बडनियार चोकमा राति करिब ११ बजे नियमित चेकजाँचका क्रममा बा १० च १२५० नम्बरको गाडीको डिक्कीभित्र टिनको बाकसमा हल्का पहेँलो टेपले बेरिएको तथा कालो–रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले जानकारी दिए।
प्रहरीले घटनापछि उम्मेदवार चौधरीसहित गाडीमा सवार चार जनालाई राति नै नियन्त्रणमा लिएको जनाएको छ। गाडीमा चौधरीसँगै पर्सागढी नगरपालिकाका नगर प्रमुखका प्रत्यासी सत्यनारायण दास र सुरज कार्की सवार थिए भने चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी रहेका थिए।

नेकपाका केन्द्रीय सदस्य बृजलाल पासवानका अनुसार होलीका अवसरमा कार्यकर्ता भेटघाटका लागि क्षेत्रमा जाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो। सोही क्रममा बम जस्तो देखिने वस्तु फेला परेपछि गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

घटनापछि गाडीलाई सुरक्षित स्थानमा राखिएको छ। आज बिहान नेपाली सेना को बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक ले जानकारी दिएका छन्।


सम्बन्धित खबरहरु