आज:  | Tue, 21, Apr, 2026

साम्प्रदायिक द्वन्द्व फैलाउने योजना विफल, सेनाको सर्च अपरेशनमा ३ जना समातिए

Avatar photo दिशा निर्देश २० फाल्गुन २०८२, बुधबार ११:१९ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना ले वीरगञ्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा सुतली बमसहित तीन जना पक्राउ परेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले चलाइएको उक्त अभियानलाई सुरक्षा निकायले महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ।

गएराति करिब २ बजेतिर श्रीजंग गण वीरगञ्जको नेतृत्वमा वीरगञ्ज महानगरपालिका–१६, इनर्वा क्षेत्रमा विशेष सर्च अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले शंकास्पद गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा वडा नं. १६ निवासी कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको ५ वटा तार तथा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।

सुरक्षा निकायका अनुसार बरामद सामग्रीले साम्प्रदायिक सद्भाव खल्बल्याउने तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य संकेत गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। निर्वाचन अवधिभर कुनै पनि प्रकारको अराजक वा साम्प्रदायिक गतिविधि हुन नदिन सेना पूर्ण सतर्क अवस्थामा रहेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।


सम्बन्धित खबरहरु