आज:  | Tue, 21, Apr, 2026

बारा ४ स्थलगत : रास्वपाका रहबर मतदाताको रोजाईमा, पुरानासँग रुष्ट

Avatar photo दिशा निर्देश १८ फाल्गुन २०८२, सोमबार १९:५१ मा प्रकाशित (१ महिना अघि)

बारा।  विजुलीका हरेक पोल यतिबेला पार्टीगत प्रचारका झण्डाले रंगीविरंगी बनेका छन् । एउटै पोलमा नेपाली कांग्रेस को पनि झण्डा छ, नेकपा (एमाले) को पनि झण्डा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी सँगै जनता समाजवादी पार्टी नेपालको झण्डा पनि टाँगिएको छ ।

चोक–चौराहामा उम्मेदवारका फोटो अंकित ब्यानर र पर्चाहरु झुण्ड्याइएको छ । यी दृश्य अहिलेका लागि नौला भने होइनन् । निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी हुँदा उम्मेदवारहरुले प्रचारलाई तीव्र बनाएका छन् । हरेक निर्वाचनमा जस्तै यसपटक पनि घरदैलोमा दोहोरिने मुख्य एजेण्डा बनेका छन् सडक, नाला र खानेपानी ।

बारा क्षेत्र नं. ४ बाट यसअघि निर्वाचित किसान श्रेष्ठले पनि यिनै मुद्दामा मतदातालाई आश्वस्त बनाएका थिए । तर बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिवेणी टोलमा अझै व्यवस्थित नाला छैन । विश्रामपुर गाउँपालिका वडा नं. २ भरवलियामा खानेपानीको समस्या कायमै छ । धर्मशाला र मन्दिरबीचको बस्तीका स्थानीय भन्छन्, “हामीलाई गाउँकै मान्छे जस्तो व्यवहार हुँदैन । धर्मशाला भन्दा उता र मन्दिरभन्दा उता सबै सुविधा पुगेको छ, तर हाम्रो बस्ती अझै पछि परेको छ ।”

फेटा गाउँपालिका वडा नं. १ भलुहीका ७५ वर्षीय मोतिलाल दास यसपटक मत परिवर्तन गर्ने मनस्थितिमा छन् । पटकपटक पुरानै उम्मेदवारलाई मत दिँदा पनि समस्या समाधान नभएकाले नयाँ विकल्प रोज्ने सोच बनाएको उनले बताए । देशभर चलेको परिवर्तनको बहसले आफूलाई पनि प्रभावित पारेको भन्दै उनले यसपटक घण्टी छापमा मतदान गर्ने संकेत दिए । उनका अनुसार टोलमा खानेपानी, नाला र सडकको समस्या अझै उस्तै छ । “जितेपछि गाउँ फर्केर नहेर्ने प्रवृत्तिले मतदातामा निराशा बढेको छ,” उनले भने ।

फेटा गाउँपालिका वडा नं. ३ बिनबलियामा एउटा गाडीमा एमालेको झण्डा र उम्मेदवारको फोटो अंकित ब्यानरसहित मत माग्ने गीत बजिरहेको थियो । त्यो दृश्य हेरेर एक स्थानीय ४५ वर्षीय व्यक्ति भन्छन्, “पहिले काम गर्छु भनेर मत मागे, जितेपछि देखिएनन् । अहिले गाडीबाट गीत बजाएर मत माग्नुभएको छ ।”

त्रिवेणी टोलकी अञ्जु देवी भन्छिन्, “घरदैलोमा आएको भए जितेर गएपछि कहाँ हराउनुभयो भनेर सोध्ने थियौं। तर यहाँ त गाडी, झण्डा र ब्यानर मात्रै आयो ।”

विगतका आश्वासनबाट दिक्क भएका मतदाता यसपटक मत परिवर्तन गर्नुपर्ने बताउँछन् प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहियाका ४४ वर्षीय वकिल अन्सारी । उनले बालेन साहको कामको उदाहरण दिँदै देशभर विकासका लागि नयाँ शैलीको नेतृत्व आवश्यक रहेको धारणा राखे ।

बेलहियाको प्रमुख समस्या भने बङ्गरी नदीको प्रदूषण रहेको स्थानीय सलिम मियाँ बताउँछन् । “नदी सफा गर्ने स्पष्ट योजना ल्याउने उम्मेदवारलाई मत दिन्छौं,” उनले भने ।

प्रसौनी गाउँपालिका वडा नं. ५ डीटोलमा मल अभाव मुख्य समस्या बनेको छ । स्थानीय रहिम मियाँका अनुसार वितरणमा पक्षपात हुने गरेको आरोप छ । “वास्तविक किसानले मल पाउँदैनन्, पहुँचवालाले मात्रै पाउँछन्,” उनले गुनासो गरे ।

स्थलगत रूपमा क्षेत्र नं. ४ अन्तर्गत तीन पालिकाका करिब १५ टोलमा पुग्दा मतदातामा परिवर्तनको चाहना देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी अगाडी देखिन्छन् भने उनीसँगै प्रतिस्पर्धामा देखिएको छ, नेपाली कांग्रेस । तेस्रोमा जनता समाजवादी पार्टी नेपाल देखिएको छ । नेकपा एमालेका किसान श्रेष्ठसँग भने मतदाता रुष्ट देखिन्छन् ।

विशेषगरी युवा मतदाताले रोजगारी, सीपमूलक तालिम, सिँचाइ र कृषि बजार व्यवस्थापनलाई प्राथमिक एजेण्डा बनाएका छन् । वैदेशिक रोजगारीका कारण गाउँमा युवा जनशक्ति घट्दै गएको र स्थानीय स्तरमै अवसर सिर्जना गर्नुपर्ने माग पनि उठेको छ ।

त्यस्तै, किसानहरुले सिँचाइ नहरको मर्मत, समयमै मल उपलब्धता र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने बताएका छन् । महिला समूहहरुले स्वास्थ्य चौकीको सेवा विस्तार, सुरक्षित खानेपानी र सडक स्तरोन्नतिको माग गरेका छन् ।

मतदाताको प्रतिक्रियाअनुसार यसपटक रहबर अन्सारीको पक्षमा नयाँ मत तानिने संकेत देखिएको छ भने पुराना दलबीच प्रतिस्पर्धा कायमै छ । केही स्थानमा पार्टीभन्दा पनि उम्मेदवारको व्यक्तिगत पहुँच र कामको मूल्यांकनका आधारमा मत तय गर्ने प्रवृत्ति देखिएको स्थानीयको भनाइ छ ।

निर्वाचन नजिकिँदै जाँदा प्रचार झनै तीव्र बनेको छ । तर मतदाता भने अब भाषणभन्दा परिणाम खोज्ने मनस्थितिमा देखिन्छन् । गाउँका सडक, नाला, पानी र कृषि समस्याले घेरिएका मतदाता यसपटकको मतबाट वास्तविक परिवर्तनको सुरुआत हुने अपेक्षा राखिरहेका छन् ।


सम्बन्धित खबरहरु