वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार समग्र शान्ति–सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधारोन्मुख रहेको निष्कर्षसहित आज साँझ ४:३० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो।
जिल्ला सुरक्षा समितिको निर्णय तथा सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा कर्फ्यूलाई निरन्तरता दिनु आवश्यक नदेखिएको प्रशासनले जनाएको छ। तर, अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको निष्कर्षसहित स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा आदेश भने जारी गरिएको छ।
प्रशासनका अनुसार मिति २०८२ फागुन ११ गते बेलुकी ६:०० बजेदेखि २०८२ फागुन १२ गते बिहान ८:०० बजेसम्म तोकिएका क्षेत्रहरूमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन।
आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
वीरगञ्जका बाइपास रोड, रानीघाट पुल, पावरहाउस चौक तथा घण्टाघर चौक आसपासका क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रशासनले जनाएको छ।
