वीरगञ्ज । पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, पर्सा ले वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज मिति २०८२।११।११ गते बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू रहनेछ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा महानगरपालिका क्षेत्रभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।
कर्फ्यू अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन साथै हवाई टिकटका आधारमा यात्रा गर्ने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आग्रह गरेको छ।
