आज:  | Tue, 21, Apr, 2026

डिजे विवादले उग्र रूप लिँदा गौरमा कर्फ्यू जारी

Avatar photo दिशा निर्देश ९ फाल्गुन २०८२, शनिबार १४:२६ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । रौतहटको सदरमुकाम गौरमा एक विवाह कार्यक्रममा ‘डिजे’का कारण होहल्ला भएको विषयबाट सुरु भएको विवादमा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
गौर नगरपालिकाको सबगढा गाउँमा बिहीवार बेलुकीबाटै विवाद सुरु भएको थियो।
शुक्रवार पनि जारी विवाद आज दुई पक्षबीच ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि गौर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार दिउँसो १ बजे देखि अर्को सूचना नभएसम्मका लागि पूर्व मुडलवा गेटसम्म, पश्चिम लालबकैया बाँध, उत्तर बम नहर, दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लगाइएको छ।
रौतहटको गौर शुक्रवार पनि दिनभरि जसो तनावग्रस्त थियो ।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित तीनै अङ्गका सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।

विवादमा संलग्न १८ जनालाई नियन्त्रणमा लिइएको र दुई समुदायबीच वार्ताको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए। प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित खबरहरु