आज:  | Tue, 21, Apr, 2026

नगरदाहामा रिमा यादवको घरदैलो, “सडक, स्वास्थ्य र रोजगारी पहिलो प्राथमिकता”

Avatar photo दिशा निर्देश ६ फाल्गुन २०८२, बुधबार १९:३० मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले बुधबार बहुदरमाई नगरपालिका–३ नगरदाहामा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिन्। स्थानीय टोल–बस्तीमा पुगेर उनले विकास, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइन् र परिवर्तनका लागि सूर्य छापमा मतदान गर्न आग्रह गरिन्।

घरदैलो अभियानमा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, बहुदरमाई नगरप्रमुख सिंहासन साह, नेता शिव पटेल, पुरन कुर्मी, वडा अध्यक्ष सुरेन्द्र यादव लगायत सयौँ नेता–कार्यकर्ताको सहभागिता थियो। टोलीले नगरदाहाका विभिन्न टोलमा पुगेर मतदातासँग खुला छलफल गर्दै स्थानीय समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएको थियो।

सो क्रममा रिमा यादवले पर्सा–२ मा सडक स्तरोन्नति, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार र कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने बताइन्। “युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर दिन नसक्ने हो भने विकास अधूरो हुन्छ,” उनले भनिन्।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरावगीले रिमा यादव इमानदार र जनतासँग प्रत्यक्ष जोडिएको उम्मेदवार भएकाले उनलाई विजयी गराउन आग्रह गरे।

स्थानीय बासिन्दाले खानेपानीको समस्या, सडक मर्मत, स्वास्थ्य सेवा विस्तार र बेरोजगारी समाधानका विषय उठाएका थिए। यादवले ती मागहरूलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने आश्वासन दिँदै घरदैलो अभियानलाई निरन्तरता दिने बताइन्।

पर्सा क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढ्दै जाँदा रिमा यादवको घरदैलो अभियानले मतदाताबीच थप सक्रियता र उत्साह ल्याएको स्थानीय नेताहरूको भनाइ छ।


सम्बन्धित खबरहरु