आज:  | Tue, 21, Apr, 2026

एमालेका प्रभावशाली नेता बसरुद्दीन अन्सारी कांग्रेसमा प्रवेश, जनकपुरबाट शक्ति प्रदर्शन

Avatar photo दिशा निर्देश ६ फाल्गुन २०८२, बुधबार १८:१८ मा प्रकाशित (२ महिना अघि)
वीरगञ्ज। पर्सा जिल्लाको राजनीतिमा ठूलो तरंग पैदा गर्दै नेकपा (एमाले)का प्रभावशाली तथा चर्चित नेता बसरुद्दीन अन्सारी नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
जनकपुरमा आयोजित भव्य आमसभाका बीच अन्सारीलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले खादा र माला लगाएर स्वागत गरे। कार्यक्रममा हजारौं कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसलाई नेताहरूले कांग्रेसको बढ्दो जनआधारको संकेतका रूपमा व्याख्या गरेका छन्।
पर्सा जिल्लामा लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अन्सारीको यो निर्णयलाई एमालेका लागि ठूलो राजनीतिक झट्का र कांग्रेसका लागि रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार अन्सारीको प्रभाव र संगठनात्मक अनुभवले पर्सामा कांग्रेसलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अन्सारीले देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको स्पष्ट पारे। उनले अब समावेशी, लोकतान्त्रिक र विकासमुखी राजनीतिक यात्रामा कांग्रेससँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्सा क्षेत्रको समृद्धि, स्थायित्व र दिगो विकासका लागि आफ्नो अनुभव र ऊर्जा समर्पित गर्ने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पर्सामा कांग्रेसको लहर तीव्र गतिमा बढिरहेको दाबी गरे। उनले देश परिवर्तनका लागि वैकल्पिक सोच, पारदर्शिता र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अन्सारीजस्ता अनुभवी नेताको आगमनले पार्टी थप सशक्त बनेको बताए।

सम्बन्धित खबरहरु