वीरगञ्ज, १ फागुन । चौरसिया ’बाजे’ को हार सुनिश्चित रहेको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले दाबि गरेका छन् । २०५६ सालदेखि चुनाव लड्दै आएका पुर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियालाई अध्यक्ष यादवले ‘बाजे’ को संज्ञा दिएका हुन्।
नेकपा एमालेबाट पर्सा २ की उम्मेदवार रिमा यादवको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पटक पटक चुनाव लड्दै सांसद र मन्त्री बनेका चौरसियालाई अब जनताले दोहोरिन नदिने दाबी गरे । यादवले भने, “हाम्रो बाजेले पनि उहाँलाई नै भोट हाल्नुभयो, बुवा र काकाहरुले पनि उहाँलाई नै भोट दिनुभयो, हाम्रो पुस्ताले पनि भोट दिएकै हो । अब फेरी हाम्रो सन्तानले भोट हाल्ने बेला पनि उम्मेदवारी दिनुभएको छ । उहाँ ‘बाजे’ भइसक्नु भयो अब बिश्राम लिनु प–यो ।”
चौरसिया नातावादले ग्रसित रहेको यादवको आरोप छ । चौरसियाले शक्तिको दुरुपयोग गर्दै आफन्त शैलेन्द्र चौरसिया थर भएका एक व्यक्तिलाई कानुनी प्रक्रिया बिना नै न्यायधिश नियुक्त गरेको आरोप यादवले लगाए । यादवकाअनुसार कानुन बेचेका चौरसियाको केहीदिनपछि आरोप पनि प्रमाणित हुनेछ ।
कानुन मन्त्री हुँदा आफ्नै जातीका व्यक्तिहरुलाई जिल्ला अदालत र उच्च अदालतमा नियुक्ति गरेको प्रमाण सहित अर्को मंचमा उपस्थित हुने प्रतिबद्धता पनि यादवले व्यक्त गरे । देश र जनताको भन्दा पनि आफ्नो र आफन्तको भलो चिताएका चौरसियाले पछिल्लो कार्यकाल विवादै विवादमा बितेको यादवको भनाई छ ।
अध्यक्ष यादवले सम्बोधन गरेको यो भिडियोमार्फत सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गर्दै चौरसियाको आलोचना गरिएको छ । यसबाट चौरसियालाई मतदाताले मत नदिने संकेत देखिएको छ ।
चौरसिया ‘बाजे’ को बाजी मार्ने दाउ यसपल्ट नलाग्ने अध्यक्ष यादवले ठोकुवा गरे ।
